जसको जिन्दगी सहज छैन

7:55 PM



वैशाख २८, २०७३- सवलांगको तुलनामा अपांग भएका व्यक्तिको सामाजिक जीवन सहज नभएको एक अध्ययनले निष्कर्ष निकालेको छ । ५९ जिल्लाका ४ हजार घरधुरीका २ हजार अपांग र त्यति नै संख्यामा सवलांग व्यक्तिबीच भएको तुलनात्मक जीवनस्तर सर्वेक्षणले यस्तो नतिजा निकालेको हो ।
नर्वेस्थित सिन्टेफ नामक अनुसन्धान संस्थाले राष्ट्रिय अपांग महासंघसँग व्यवस्थापकीय साझेदारीमा अनुसन्धान गरेको हो । जसमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र अन्य विषयगत मन्त्रालयको समन्वय थियो ।
पछिल्लो जनगणनाअनुसार कुल जनसंख्यामा १ दशमलव ९४ प्रतिशत अपांग व्यक्ति छन् । जबकि राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०११ ले भने ३ दशमलव ६ प्रतिशत अपांगको जनसंख्या देखाउँछ । अध्ययनले आधारभूत सेवा र सुविधा उपयोग गर्ने सन्दर्भमा सामान्य व्यक्ति र अपांगबीच ७० देखि ९० प्रतिशतसम्म फरक रहेको देखाएको छ । स्वास्थ्य, सूचना र शिक्षामा पहुँचका हिसाबले पनि अपांग सामान्य व्यक्तिभन्दा धेरै पर रहेको अध्ययनले देखाउँछ ।
अध्ययनले अपांग व्यक्तिको जीवन असहज रहेको निचोड मात्रै निकालेको छैन, प्रत्येक ८ मध्ये १ जनाले मात्रै सहयोगी सामग्रीको प्रयोग गरेको तथ्य पनि बाहिर ल्याएको छ । मतदानको सार्वभौम अधिकार उपयोगमा पनि अपांग व्यक्ति पछि परेको देखिन्छ । अध्ययनले भनेको छ, संविधानसभाको दोस्रो निर्वाचनमा मात्रै अपांग भएका र नभएका व्यक्तिबीच यस्तो अन्तर १२ प्रतिशतको देखिन्छ ।
सहरमा रहेका अपांग र गाउँमा रहेका सोही समूहका व्यक्तिको जीवनस्तरमा पनि धेरै फरक देखिन्छ । जस्तो कि, पोषणका विभिन्न १२ खाद्य सामग्रीमध्ये सहरमा बस्ने अपांग व्यक्तिले १० दशमलव ४८ मा पहुँच राख्छन् भने गाउँमा बस्नेमा ९ दशमलव ५७ मात्रै छ ।
सूचनामा पहुँचको सन्दर्भमा पनि यस्तो फरकपना उल्लेख छ । सूचना प्रविधिका विभिन्न ५ माध्यममध्ये सहरमा बस्ने अपांग व्यक्तिले ३ दशमलव ५४ मा पहुँच राख्छन् भने गाउँमा बस्नेले २ दशमलव ५१ मा मात्रै ।
सहरका ३ दशमलव ५४ प्रतिशतले सूचनाको पहुँच राख्छन् भने गाउँका यस्तो पहुँच राख्ने २ दशमलव ५१ प्रतिशत मात्रै छन् । सरसफाइ र शौचालयको उपयोगितामा पनि सहरमा बस्ने र गाउँमा बस्ने अपांग व्यक्तिमा फरकपना रहेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार सहरमा बस्ने २४ दशमलव ६ प्रतिशत अपांग भएका व्यक्ति फल्स ट्वाइलेट उपयोग गर्छन् भने गाउँमा बस्ने ३ दशमलव ३ प्रतिशत मात्रै यस्तो
ट्वाइलेटको पहुँचमा छन् । सहरका ८ दशमलव २ प्रतिशत अपांग भएका व्यक्ति शौचालयको पहुँचबाहिर छन् भने यस्तो संख्या गाउँमा ३२ दशमलव ६ छ ।
५ देखि १० वर्ष उमेर समूहका ३५ प्रतिशत अपांग बालबालिका शिक्षाको पहुँचबाहिर छन् भने यही उमेर समूहका सवलांग ५ प्रतिशत बालबालिका मात्रै शिक्षाको पहुँचबाहिर छन् ।
सहरमा बस्ने अपांग भएका व्यक्तिको साक्षरता प्रतिशत ५७ दशमलव ७ प्रतिशत छ, जबकि सवलांगको साक्षरतादर भने ७४ दशमलव ६ प्रतिशत छ ।
यही दर गाउँमा बस्ने अपांग व्यक्तिका हकमा ३९ प्रतिशत छ भने गाउँमै बस्ने अपांग नभएकाको साक्षरतादर ५७ दशमलव १ प्रतिशत छ । यसले सहर र गाउँमा बस्ने अपांगको अवस्था कति फरक छ भन्ने मात्रै बुझाउँदैन, अपांग भएका र नभएकाबीचको फरकलाई पनि बुझाउँछ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्मा अपांग व्यक्तिको जीवनस्तरमाथि यस्तो विस्तृत सर्वेक्षण पहिलो भएको बताउँछन् । भन्छन्, ‘यसले आगामी दिनमा नीति निर्माणमा सहयोग पुर्‍याउँछ ।’
दक्षिण अफ्रिकाका आठ देशसँग तुलना गर्दा प्राथमिक स्कुलमा अपांग भएका र नभएकाको पहुँचको फरकपनामा नेपाल अन्य देशभन्दा धेरै पछि रहेको देखिन्छ ।
अध्ययनमा संग्लन नर्वेजियन प्रोफेसर आर्ने एच इलिड भन्छन्, ‘यसमा सुधारको धेरै खाँचो छ । आधाभन्दा धेरै अपांग व्यक्ति निरक्षर छन् ।’
अध्ययनअनुसार ११ दशमलव ७० प्रतिशत अपांग भएका व्यक्तिसँग मात्रै सहयोगी प्रविधिसँग पहुँच छ । यो भनेको दक्षिण अफ्रिकाका नामिबिया जिम्वाबे, मलावी मोजाम्बिक, स्वाजिल्यान्ड, वोत्स्वानाजस्ता देशको भन्दा कम हो ।
प्रकाशित: वैशाख २८, २०७३

You Might Also Like

0 comments