मच्छिन्द्रनाथको रथ आज तानिँदै
7:48 PM![]()
![]() |
वैशाख २८, २०७३- रातो मच्छिन्द्रनाथको रथ तान्ने पर्व मंगलबारदेखि सुरु हुँदै छ । रथलाई बाजागाजा साथ गा:बाहल पुर्याइनेछ । त्यसै अवसरमा मच्छिन्द्रनाथको बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट रथमा राखेर न:टोल पुर्याइने छ । न:टोलबाट मीननाथ र मच्छिन्द्रनाथको रथलाई गा:बहाल पुर्याइनेछ ।
जात्रा अवधिभर बाधा नहोस् भनेर होम र गाई दान गर्ने चलन छ । सोमबार मल्लकालीन राजा सिद्धिनरसिंह मल्लका सन्तान भनिनेहरूले पुल्चोकस्थित मच्छिन्द्रनाथको रथअघि गाई दान र होम गरिएको थियो । गत शनिबार मच्छिन्द्रनाथको रथारोहण गरिएको थियो ।
जात्रामा पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक खडगलाई मच्छिन्द्रनाथको रथमा राखिनेछ । जात्रा अवलोकनका लागि ललितपुरकी जीवित देवी कुमारीलाई पनि हख बहालको मूल ढोकामा राखिन्छ । रथ गा:बहाल पुगेकै रातमा ‘छोय्ला बू’ भनी राति भोज आयोजना गर्ने र समय बजी खाने चलन छ ।
रथ गा:बहालबाट महापाल– मंगलबजार– सुन्धारा– महाबौद्ध– थैना– टंगाल– लगनखेल– थतिटोलमा पुर्याइनेछ । पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा भोटो देखाएपछि सम्पन्न हुन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी गुरुजु पल्टनका साथ बुंगमती पुर्याइनेछ ।
१२ वर्ष पानी नपरी अनिकाल भएपछि पानी पार्न भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, कान्तिपुरका बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापु भारत असमको कामरूपकामक्षबाट मच्छिन्द्रनाथलाई ल्याइएको भन्ने कथन छ । तर, गोपाल वंशावलीमा भने मच्छिन्द्रनाथलाई कामरूपकामक्षबाट ल्याइएको भन्ने उल्लेख छैन ।
राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको जात्रा चलाएको भन्ने मात्र उल्लेख छ । जात्रा नरेन्द्रदेवले सन् ६३४ देखि ६७१ सम्म चलाएको विश्वास गरिन्छ ।
![]() |

0 comments