रातारात यसरी बच्यो ओली सरकार-कांग्रेस र मोर्चा चकित
1:41 AM‘ओली सरकार नढल्ने भयो, बुधबार बेलुकीदेखि बिभिन्न तहमा भएका छलफल सकारात्मक भएपछि हाम्रो पार्टी तत्काल सरकारमै रहिरहने निर्णय भएको छ’ एकीकृत माओवादीका एकजना नेताले नाम उल्लेख नगर्ने शर्तमा उज्यालो अनलाइनसँग भने ।
उनका अनुसार समझदारीको विषयमा औपचारिक निर्णय भने हुन बाँकी छ । ‘तर ढुक्क हुनुहोस्, यही सरकारले शान्ति प्रक्रियाका बाँकी काम, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको अभिभारा पूरा गर्नेछ’ ती नेताले भने ।
यसअघि कांगेसको आश्वासन पाएलगत्तै एकीकृत माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत थालेको थियो । बुधबार बिहानैदेखि प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा लागेपछि एमालेका नेताहरुले एकीकृत माओवादीसँग बिभिन्न तहमा छलफल गरेका थिए । बुधबार बेलुकीदेखि बिहीबार बिहानसम्म भएका छलफलमा शान्ति प्रक्रियाको बाँकी काम र नागरिकका अरु जल्दाबल्दा सरोकार सम्बोधनको लागि कार्यतालिका बनाएर अघि बढ्ने सहमति भएको छ ।
एमालेसँग सहमति भएलगत्तै बिहीबार बेलुकी प्रधानमन्त्रीले बोलाउनुभएको मन्त्रिपरिषद बैठकमा एकीकृत माओवादीका मन्त्रीहरु सहभागी हुँदैछन् ।
यसअघि बिहान मन्त्रिपरिषद बैठक बोलाइएपनि एमाओवादीका मन्त्रीहरु उपस्थित भएका थिएनन् । मन्त्रिपरिषद बैठकमा सहभागी हुने या नहुनेबारे निर्णय गर्न उनीहरुको छुट्टै बैठक बसेको थियो ।
‘बैठक भैरहेको बेला हाम्रो पार्टीको तर्फबाट उपप्रधानमन्त्री बन्नुभएका टोपबहादुर रायमाझीलाई अध्यक्ष प्रचण्डले बोलाउनुभयो, उहाँले मन्त्रिपरिषद बैठकमा सहभागी हुन सर्कुलर गर्नुभएको छ’ एमाओवादीका ती नेताले भने ।
स्रोतका अनुसार ओली नेतृत्वकै सरकारले बजेट ल्याउने र त्यसपछि एकीकृत माओवादीको नेतृत्वमा सरकार बनाउनेबारे पनि दुई दलबिच कुराकानी भएको छ ।
यसअघि बुधबार बालुवाटारमा भएको बैठकमा ओलीले बजेट ल्याउनेबेलासम्म पर्खन प्रस्ताव गर्नुभएको थियो । बिहीबार बिहान भएको छलफलमा एकीकृत माओवादीले यो प्रस्ताव स्वीकार गर्दै वर्तमान गठबन्धनलाई टिकाइराख्ने सहमति जनाएको हो ।
‘सरकारको नीति तथा कार्यक्रम र बजेट यही सरकारले ल्याउने र त्यसपछि एकीकृत माओवादीले सरकारको नेतृत्व गर्नेबारे सहमति हुन सक्छ’ बालुवाटार स्रोतले भन्यो ।
0 comments